मुसा धेरै दिनदेखि खाने कुराको खोजिमा थियो। ऊ यस्तो ठाउँ खोजिरहेको थियो, जहाँ कुनै मेहनत नगरी धेरै दिनसम्म खाना पाइयोस्। एक दिन ऊ चामलले भरिएको बट्टामा पुग्यो। बट्टा निकै ठुलो र अग्लो थियो। बट्टाभरि चामल थियो। यो देखेर मुसा सारै खुशी भयो।
यस दिनबाट मुसा उहि चामल खाँदै त्यहि बट्टामा बस्न थाल्यो। कोठा अँध्यारो थियो। घरको मानिसहरू कोहि पनि त्यहाँ हेर्न आउँथेनन। खाना खोज्न मेहनत गर्न नपरेकोले मुसा पनि खुशी साथ चामल खादै त्यहि दिन-रात बिताउन थाल्यो। दिनहरू बित्दै गए, बट्टाको चामल कम हुदै गयो। मुसा पनि सजिलै खान पाएकोले मोटाउदै आयो।
केहि दिनपछि चामल बट्टाको पिँधमा पुग्यो। बट्टाभित्र मुसाको फोहोर पनि थुप्रिदै आयो। यसैले मुसालाई त्यहाँ बस्ने इच्छा कम हुदै आयो। निकै दिनदेखि रसिलो कुरा खान नपाएकोले उसलाई तिर्खा पनि लाग्न थाल्यो। यसर्थ बट्टा छाडेर कतै जानु नै उचित लाग्न थाल्यो उसलाई।
यहाँबाट सर्ने मनसाय बनाएपछि उसले आफू वरपर हेर्यो। भुईँमा खाएर आफैले गरेको फोहोर मात्रै देख्यो। नभन्दै अब बट्टामा चामलको दानाभन्दा उसैले गरेको फोहोर ज्यादा थियो। अब उसलाई यो पनि थाहा भयो, चामल सकिदै बट्टाको पिँधमा पुगिसकेको रहेछ।
बट्टाको मुख निकै माथि थियो। मोटाएकोले उफ्रेर मुखसम्म पुग्न सक्ने शक्ति उसमा थिएन। बट्टा बाहिर झन् कसरी निस्किने ? अब उसलाई चिन्ता हुन थाल्यो। बट्टा भित्र ऊ दगुर्यो, यता-उता निकै कुद्यो, धेरै पटक उफ्र्यो। तर ऊ बट्टाको मुखसम्म पनि पुग्न सकेन। निरास भएर त्यहि बस्यो।
सोहि दिन उक्त कोठाको ढोका खुल्यो। बट्टा पारदर्शी भएकोले उसले भित्रबाटै मान्छे आइरहेको देख्यो। छेउमा आइ पुगेपछि मान्छेले उक्त बट्टा हातमा लिदै बोल्यो, ''उम् ...., बल्ल परेछस् फन्दामा !"
यति बोलेर उक्त बट्टा बोकेर मान्छे कोठा बाहिर निस्क्यो।
मुसा कराउन थाल्यो, ''नाईँ, मलाई मर्न मन छैन। ए मानव, मलाई छोड्देऊ, मलाई छोड्देऊ ..... ! "
।। समाप्त ।।
सामाजिक चेतनाः
जब कुनै कुरा सोचेभन्दा बढी सजिलै प्राप्त हुन्छ, तब हामीले विचार पुर्याउनु पर्छ, पक्कै पनि केहि त गलत छ।
प्रतिफल भनेको मेहनतको मात्रै मिठो हुन्छ।
----- महा शिवरात्रीको पावन अवसरमा सम्पूर्ण पाठकजनमा हार्दिक शुभ-कामना।
---- शुभकार्य गर्दा दशा र शिवरात्रीको बेला गाँजा-भाङ्गको नशाबाट सकभर टाढा रहनु होला।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें