नेपाली मिति: २४/११/२०७७
म आफू पनि अलि भावुक किसिमको व्यक्ति हुनाले छिमेकमा देखिने स-साना घट्नाले पनि मलाई छुन्छ।
देखेको कुरा लेख्न मन लाग्छ।
लेखेको कुरा अरुलाई पढ्न दिन मन लाग्छ।
पढ्ने रुचि नदेखाए सुनाउन मन लाग्छ।
सुन्ने इच्छा पनि नदेखाए देखाउन मन लाग्छ,
ता कि देख्नेलाई दिक्क नलागोस्, र यस्ता विषयबारे चेतना जाग्रित पनि होस्।
घट्ना हिजोको हो। ट्युशन पढाउन म छिमेकी घरमा गएको थिएँ। संवोधनमा मैले काका भन्ने व्यक्तिको छोरोलाई पढाउन हिजोबाटै सुरु गरेको हुँ। साँझ ५ बजेतिर म त्यहाँ पुग्दा काका र काकी पनि अफिसबाट भर्खरै आइ पुगेका रहेछन्। उहाँहरूका एक मात्र छोरा (नाम: सहिन ) पनि स्कुलबाट आइ पुग्यो।
केहिबेर पछि पढाइ सुरु गर्न हामी सहिनको कोठामा आयौँ। आउदै गर्दा मैले सुनेँ, 'तिमी बस्दै गर। म सबैको लागि चिया बनाएर ल्याउछु।' सहिनको बुवाको आवाज थियो यो। अचम्म तुल्यायो उनको बोलीले मलाई। यध्यपि मैले कुनै प्रतिक्रिया जनाइँन। उनले यसो भनेको आफ्नी श्रीमतिसँग थियो।
पढाउन सुरु गरेँ। कक्षा १० को गणित र विज्ञान विषय। आफ्नै ठाउँमा गारो पनि। सजिलो पनि। तर मलाई चाहिँ विषय पढाउन एकदमै रमाइलो लाग्छ। यी दुई विषयहरू पढिरहदा र पढाइ रहदा कैल्यै दिक्दार महशुस भएन मलाई।
केहिबेर पछि चिया लिएर सहिनको बुवा र आमा दुवै जना हामी भएको कोठामा आए। सहिनको बुवाले टेबलमा राखेपछि ट्रेमा ४ कप कालो चिया देखेँ। चियाको रंग हेर्दा कागती पनि हालेको जस्तो देखिरहेको थिएँ। चिया सहिनको बुवाले ल्याएका थिए, उनैले सुरुमा मलाई दिए। अलि असहज महशुस गर्दै लिएँ। घरमा सधैँ आमा र दिदीको हातबाट चिया र खाने कुरा लिने बानी। कोहि पुरुषको हातबाट चिया लिदा पसलमा चिया पिउन आएको हो कि जस्तो लागिरहेको थियो।
उनले चिया सहिनलाई पनि दिए। यसपछि सहिनकी आमालाई अनि आफ्नो भाग पनि लिए।
'मैले चिया बोक्न खोज्दा मान्नु भएन। गारो भयो होला तपाईँलाई !' चियाको कप लिदै गर्दा सहिनकी आमाले बोलेकी थिईन्।
'के को गारो हो र बुडी, आफ्नै परिवारको सेवा गर्न पनि ?' सहिनको बुवाको हसिलो प्रतिक्रिया थियो यो। सहिनको आमाको मुहारमा उज्यालो छाएको थियो।
'त्यो त हो। तर भर्खर अफिसबाट थाकेर आउनु भाथ्यो। त्यहि भएर ....... '
'तिमी पनि सँगै थाकेर आएकी हौ नि ! आफिस जानु अघि तिमीले सेवा गरेकी थियौ, आएपछि मेरो पालो ..... '
बुढाबुढीको कुरा सुन्दा एउटै कुरा अनुमान लगाउन सकिन्थ्यो, 'कति गहिरो प्रेम र सदभाव छ उनीहरू बिचमा ! '
मैले आफ्नो घरको वातावरण सम्झेँ। बुवाको के कुरा, मैले पनि आजसम्म आमा कामबाट थाकेर आउनु हुदाँ एक गिलास पानी समेत दिएको छैन। सोच्थेँ, 'यो त आमाकै काम हो। लिएर खानु हुन्छ नि आफै।' सायद् पुर्खौँदेखि चल्दै आएको पुरुष्यत्व हावी भएको हुदो हो ममा। लेखपढ गरेर समाजमा ठुलो व्यक्ति हुनु पर्छ भन्ने ज्ञान पाएँ परिवारबाट। तर घरको काममा सघाउनु पर्छ भन्ने चेतना कसैले दिएनन्। धेरै सुखले पनि मानिसलाई कुमार्गतर्फ धकेल्छ भनेको सायद् यहि होला।
प्रायजसो आमा र बुवाको अफिसबाट घर आउने समय एउटै पर्छ। घर आउने बितिक्कै थाकेकी भए पनि आफ्नो थकान बिर्सेर आमाले बुवाको लागि खाने र पिउने कुरा ल्याइदिनु हुन्थ्यो, बुवा बसिरहनु भएकै कोठामा। आमा नभए यसरी बुवा र मेरो सेवा गर्ने काम दिदीको हुन्थ्यो। मेरा आखामा मेरो लागि हरदम माया दर्साइ राख्ने दिदीको मुहार झुल्किरहेको थियो यति बेला। नर्स हुनु हुन्छ दिदी। यति बेला हस्पिटलको कुनै बिरामीको सेवामा खटिनु भएको होला। काम गरेपछि तलबको कुरा आफ्नै ठाउँमा छ। तर त्यहाँ पनि दिदीलाई साथ दिने कोहि छैन। लाग्छ, म भाइ भएर पनि दिदीलाई आफ्नो भाइ भएको महशुस कैल्यै दिलाउन सकेको छैन। आज सोच्दा सारै दु:ख लाग्यो।
यो घरको यो वातावरणले म नि:शब्द भएँ। शिक्षाले चेतना ल्याउँछ। व्यवहारमा परिवर्तन ल्याउँछ। व्यक्तिलाई सभ्य बनाउँछ भन्थे। हाम्रो परिवार जतिसुकै शिक्षित भए नि व्यवहारमा परिवर्तन नआएको महशुस भयो मलाई।
'सर, अब यो प्रश्न सिकाइ दिनुस् न !' सहिनको आवाजले झस्किएछु म। अरुबेला कुन प्रश्नको हल कसरी सिकाउने भन्ने सोँचमा हुन्थ्यो मस्तिष्क। आज घरको कुराले मलाई ओगटिरहेको थियो। सहिनले भर्खरै सोधेको प्रश्न कठिन थिएन। उसले सोधेझैँ मैले त्यहि सिकाउन थालेँ।
'ल बाबु, राम्ररी सिक है सरसँग। केहि पर्यो भने हामीलाई भन। हामी त्यहिँ हुन्छौँ।' अर्को कोठातिर दर्साउदै सहिनको बुवाले भने।
सहिनले मुस्कुराउदै 'हुन्छ' को भावमा टाउको हल्लायो।
यसपछि सहिनको बुवा आमा कोठा बाहिर निस्के।
सायद् उनीहरू साझँको खाना तयार गर्न जाने सुरमा थिए।
गणित विषयको केहि प्रश्नहरू हल गरेपछि विज्ञान विषय सुरु गर्यौँ।
मैले सहिनलाई गणित र विज्ञान कति सिकाउन सक्छु, यो त भविष्यले बताउला। यसमा उसको मेहनतले पनि ठुलै भूमिका खेल्छ। तर यो परिवारबाट मैले पनि धेरै उपयोगी कुराहरू सिक्न पाउने आभास भइ रहेको छ। कसैलाई कुनै विषयबारे सिकाउनु आफैमा ठुलो कुरा हो। कसैबाट केहि कुरा सिक्नु आफ्नो उपलब्धी हो। दुुनियाँ यसरी सिक्नु र सिकाउनुमै अडिएको छ। फरक यति हो, सिकाउनेले कतिको सहि सिकाउँछ अनि सिक्ने व्यक्तिले ति कुरा व्यवहारमा कति ल्याउँछ।
--- मानिसको व्यवहार दुई कारणले बदल्न सक्छौँ। पहिलो, उचित शिक्षा दिएर । दोस्रो, उचित संस्कार दिएर।
मेरो अनुभवले भन्छ, विज्ञान र गणित पढ्नेले पढाइबाट यस्ता चेतना कहाँबाट हाशिल गरोस् र ? यो देशमा यी दुई विषयहरूलाई घोकन्ते विषयको रुपमा लिनेहरू धेरै छन्। केहि कुराहरू मैले पनि घोकेरै जानेको हुँ। घोकेका कुरा र भोगेका कुरामा आकाश पातालको भिन्नता हुदो रहेछ। यसर्थ मानिसलाई घोकाइ बिनाको संस्कार दिनु पर्दछ।
किताब र परिवारबाट नसिकेको संस्कार मैले यो परिवारबाट सिकेको छु। सिक्नु पर्ने कुराहरू त धेरै छन्। तर घरमा नारी सम्मानको लागि यति सिकाइ पनि काफी छ।
कुनै पनि नारी पहिले आफ्नो परिवारमा सम्मानित हुनु पर्छ। अनि मात्रै उनी समाजमा र पुरै विश्वमा सम्मानित जीवन जिउन सक्षम हुन्छिन्।
।।। आज नारी दिवस। यो लेख मेरी आमा र दिदी अनि सम्पूर्ण नारीप्रति समर्पित छ ।।।
समय दिनु भएकोमा हार्दिक धन्यवाद। यस्तै लेख-रचनाको लागि हाम्रो ब्लगलाई FOLLOW गर्नु होस्।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें