तिमीले ख्याल राखेनौ भने, बेला बेलामा सफा गरेनौ भने मैले तिमीलाई दिएको चिनो पनि सधैँ नयाँ नरहन सक्छ। पुरानो भएर टुट्न सक्छ, फुट्न सक्छ। सहरको धुलोले मैलिन सक्छ। रुप बद्लिन सक्छ। पहिलेको जस्तो चमक र मनमोहक नहुन सक्छ। तिम्रो कोठाको कुनै कुनामा एक्लै पर्न सक्छ। तिम्रा घरकाले काम नलाग्ने चिज सम्झेर डस्बिनमा फाल्न सक्छन्। यसरी मैले तिमीलाई दिएको हाम्रो नाताको चिनो सधैँका लागि तिमीबाट गुम्न सक्छ। पछि तिमीले खोज्दा नभेटिन सक्छ। अझ भनुँ, तिमीले सम्झिदै सम्झेनौ भने त्यो चिनोको अस्तित्व तिम्रो दुनियाँबाटै मेटिन सक्छ।
चिनो स्वरुप साटिएको एउटा सामानले कति ठुलो अर्थ राख्छ हाम्रो सम्बन्धमा। यो चिनो एउटा ऐना हो, जसमार्फत मेरो माया परावर्तन भएर तिमीसम्म पुग्छ। यसरी नै तिम्रो माया मसम्म आइ पुग्छ।
समयले हाम्रो मायामा पनि यस्तै धुलो छर्कन सक्छ। सम्बन्ध मैलो बनाइ दिन सक्छ। तिमीले ख्याल गरेनौ भने, मैले ख्याल गरिनँ भने यो मायाको चमकता धमिलो पार्दिन सक्छ। तिमी र मलाई अहिलेको दुरीभन्दा पनि टाढा हुत्त्याइ दिन सक्छ। दुनियाँमा संरचनाहरू बिगार्न सजिलो छ। ध्वस्त पार्न धेरै समय लाग्दैन। त्यो संरचना बनाउदाको संघर्ष त्यो बनाउनेलाई मात्रै थाहा हुन्छ। हामीलाई थाहा छ, हाम्रो सम्बन्ध यहाँसम्म ल्याइ पुराउन हामीले कति समय खर्चेका छौँ। मानसिक रुपमा र भावुकतामा आफूलाई सम्हालेर राख्न कति संघर्ष गरेका छौँ। यो तिमी र मैले मात्रै बुझ्छौँ। तिम्रा र मेरा परिवार र आफन्तजनले बुझ्दैनन् हाम्रो यो संघर्ष। मायामा भएर पनि टाढा रहदाको पिडा तिमी र मलाई जति अरुलाई सायदै थाहा होला।
हाम्रो मायालाई हामीले चिनेका छौँ। यसको महिमा र हाम्रो जीवनमा यसको महत्व हामीले बुझेका छौँ। यो माया बिनाको हाम्रो जीवन जंगल बिनाको जमिनझैँ उजाड हुने महशुस हामीलाई हुन्छ। अरुले यो बुझ्दैनन्।
तिम्रो कोठामा धुलोले चमकता गुमाएको मेरो चिनो र हाम्रो माया उस्तै हुन्। घरकाले यसको विशेषता नबुझेर कवाडमा फालिदिने जमर्को गर्न सक्छन्। तिमीले यो बुझ्नु जरुरी छ, हरेक व्यक्तिलाईआफुसंग सम्बन्धित र आफुलाई जरुरत परेको चिजको मात्रै महत्व थाहा हुन्छ। अर्काको चिजको वास्तै गर्दैनन्।
हामीले अरुलाई बुझाउनु पर्छ, हाम्रा लागि महत्वपूर्ण कुराको बारेमा।
समयले हरेक चिजको स्वरुप बदलि दिन्छ प्रिय। आयु घटाइ दिन्छ। अनेक कमजोरी सिर्जना गराइ दिन्छ। सुन्दरता मेटाइ दिन्छ। अन्ततः हाम्रो जीवनबाट त्यसको अस्तित्व नै हटाइ दिन्छ। यसैले समय बलवान् छ।
समयभन्दा ठुलो कुरा हाम्रो चाहना हो, हाम्रो मन हो। समय बद्लिन्छ, परिवेश बद्लिन्छ। तर हाम्रो मन बद्लिनु भएन। चाहना बद्लिनु भएन। मनमा कुनै चिजप्रतिको चाहना र यसलाई हाशिल गर्ने अठोट बलियो भयो भने समय पनि वाध्य हुन्छ, हामीलाई त्यो चिज सुम्पिन।
आज मेरो चाहना तिमी छौ। तिम्रो चाहना म।
एक-अर्कालाई पाउने चाहनामा हामी यति विलिन छौँ। तिमी बाहेक म अरुको बारेमा सोच्दिन, तिमी पनि सोच्न सक्दैनौ। शब्दमा वयान गरि तिमीलाई बुझाउन कठिन छ, यो चाहनाको बारेमा। तिमी आफू पनि बुझकी छौ। धेरै कुरा बुझ्छौ। यस्तो लाग्छ, कसैको मायामा डुबेपछि उसको बारेमा बुझ्ने शक्ति पनि आफै प्राप्त हुन्छ हामीलाई।
ख्याल गरौँला। सुरक्षित राखौँला। हाम्रो मायाको यो सम्बन्धलाई सधैँभरी ताजा र चमकपूर्ण बनाइ राखौँला।
विगतमा हामी भेट हुदा तिमीले दिएको चिनो हेर्छु। तिम्रो यादले सारै सताउँछ। लाग्छ, अहिल्यै तिम्रो नजिक आएर तिमीलाई कस्सेर अंगालोमा बेरूँ। लाग्छ, चाहे जस्तोसुकै अवस्था आओस्, आँखा नझिम्काइ तिमीलाई हेरूँ।
तिमी बेला बेलामा गुनासो गर्छौ, 'पहिले जति माया नै गर्दैनौ आजकल मलाई!'
तिमीले भने जस्तो मलाई अलिकति पनि लाग्दैन। तिमीलाई बुझाउन सक्दिन, तिम्रो माया कति छ। तौलेर बताउन पनि सक्दिन, पहिलेभन्दा अहिले कति गुणा बढेको छ तिम्रो माया। मलाई महशुस हुन्छ, तिमीबाट टाढा बस्न कति गारो छ। जब भिडियो कलमा मेरो सामु तिमी आफ्नो भावुकता दर्साइ रहेकी हुन्छौ। तिमीलाई के थाहा, त्यो पल मेरो मनमा कति कुराको बबन्डर मच्चिरहेको हुन्छ तिमीलाई लिएर। सायद् स्वभावैले होला, म तिमी जति भावुक देखिन सक्दिनँ। स्वभावले नै हो, तिमीप्रतिको कुनै भावुकता म बोलेर मात्रै तिमीलाई महशुस गराउन चाहन्न। बोले जस्तो गर्न मन छ।
तिमीलाई काखमा राखेर तिम्रा कानमा सुस्तरी यी भावना खोल्नुको मज्जा। यति पनि नभए, तिम्रो हात समाएर तिम्रा आँखामा हेरेर तिमी सामु यी भावना खोल्नुको मज्जा। यति बेला म मात्रै महशुस गर्न सक्छु। आज तिमीलाई बोलेर बताउदा अनि भोलि तिमीलाई भेटेर त्यहि कुरा गर्दा। त्यति मज्जा नआउन सक्छ, जति पहिलो पटक कुनै कुरा सुन्दा र प्रत्यक्ष महशुस गर्न पाउदा आउँछ।
तिमीलाई च्यापेर राख्ने चाह हुदाहुदै पनि यो अंगालो खाली हुदा, तिम्रा ओठमा चुम्ने रहर हुदाहुदै पनि एक अर्कोको स्पर्शमा मात्रै यी ओठलाई सिमित राख्नु पर्दा। पिडा छ प्रिय पिडा छ !
तिमी भन्छौ, 'मलाई हजुरसँगै निदाउन मन छ।'
तिम्रो बोली सम्झिदा मलाई आफ्नै बिस्ताराले गिज्याउँछ आजकल।
दुनियाँमा सबभन्दा भाग्यमानी चिज यो तकिया हो जस्तो लाग्छ मलाई। किनकी यसकै एक रुप तिम्रो अँगालोमा पनि होला यति बेला। मेरो अंगालोमा पनि छ। यो जहाँ छ, कसै न कसैको अंगालोमा पक्कै छ। बस् यति चाहना छ यति बेला मभित्र, भोलिपर्सी हामी सँगै हुदाँ तकिया बिचमा राखेर निदाउनु पर्ने वाध्यता कहिल्यै नआओस्। सुनेको छु, सम्बन्ध कमजोर बन्दै जादा तकिया दुई जनाको बिचमा घुस्छ रे ! यस्तो दिन हाम्रो मायामा कैल्यै नआओस्। म तिमीलाई विश्वास दिलाउन चाहन्छु, हाम्रो जीवनमा यस्तो पल कैल्यै आउने छैन।
जब हामी संगै हुन्छौ, हाम्रो बिचमा एउटा कुरा मात्रै हुने छ - हामीले लगाएका कपडा। कुनै पल त यी कपडा पनि बिचमा रहन दिने छैन। स्पर्श मनको मिठो हुन्छ, स्पर्श तनको मिठो हुन्छ। यी दुवै स्पर्शको मिठासले तिम्रो मन भरिपुर्ण बनाइ राख्ने छु।
मान्छेले डाह गर्ने कुरा। अरुका आँखा लाग्ने कुरा। समाजमा विद्यमान छ। जुन सुख र खुशी म तिमीलाई दिन्छु, यसमा कसैको आँखा लाग्न पाउने छैन। हाम्रो प्रगति देखेर अरुले डाह गर्नु स्वाभाविक छ। यो त मानिसको जन्मसिद्ध अधिकार पनि हो। डाह गरे गरुन्। तर कसैका कुदृष्टि हाम्रो सम्बन्धमा नपरुन्। तिमीलाई कामना। मलाई नि कामना।। अपार माया। तिमीलाई अनगिन्ती सम्झना।।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें