लघु-कथा लेबलों वाले संदेश दिखाए जा रहे हैं. सभी संदेश दिखाएं
लघु-कथा लेबलों वाले संदेश दिखाए जा रहे हैं. सभी संदेश दिखाएं

शुक्रवार, 14 मई 2021

नेपाली कथा - अदृश्य

वाध्यतावश विदेश गइ फर्केका एक युवाको भावुक कथा\भोगाइ


अदृश्य


तिमी फूलको थुंगा मचाहिँ डाली हुने दिन

तिमी धानका बाला मचाहिँ आली हुने दिन।

सोँच्ने गर्छु कहिले आउला हाम्रो जीन्दगीमा,

तिम्रो माइत मेरो ससुराली हुने दिन ।।


पुरा कथा डाउनलोड गर्न र  पढ्नको लागि तलको लिंकमा क्लिक गर्नु होस्।

Download Full Story 


भिडियो हेर्न तल क्लिक गर्नु होस्ः

गुरुवार, 29 अप्रैल 2021

देशको विश्वविद्यालयको पढाइ विद्यार्थीका लागि यति भयावह हुनुमा दोषी को ?? अनलाइन परिक्षा गर्नुमा के समस्या छ र ?? एक पटक अवश्य पढ्नु होला।

देशको विश्वविद्यालयको पढाइ विद्यार्थीका लागि यति भयावह हुनुमा दोषी को ?

---> यदि यो प्रश्न त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी 👪हरूलाई सोध्ने हो भने जवाफमा पक्कै पनि दोषीको रुपमा विश्वविद्यालय नै देखा पर्छ। 
देखा नपरोस् पनि कसरी ?                                                                          
विद्यार्थीका अभिभावकले पनि यो जवाफलाई अवश्य स्विकार्छन्।   👍👍     
 

नस्विकारून् पनि किन  र ?
देशकै वृहत् कहलिएको विश्वविद्यालयले गरेको चर्तिकला नै यस्तै छ।
कुनै देशमा होला, चार वर्षको स्नातक पुरा गर्न छ वर्ष बढी लागेको ?
कुनै देशको विश्वविद्यालयमा होला, दुई वर्षको स्नातकोत्तर पुरा गर्न चार वर्ष बढी लागेको ?

पहिलो पटक यो लेख पढिरहेका साथीहरू र विदेशबाट पढेर आएकाहरूलाई त यो लेख पढ्दा पनि अचम्म लाग्न सक्छ। अझ ति व्यक्तिहरू, जसका आफन्तजन त्रिभुवन विश्वविद्यालयमै कार्यरत छन्, उनीहरूमा त झन् यो  लेखको लेखकप्रति नै गलत धारणा उब्जिन सक्छ। 

जसले जे जस्तो सोच्नु भए पनि उहाँहरूप्रति मेरो सम्मान छ। सम्मानसँगै खेद पनि छ कि तपाईँहरू जस्ताका आफन्त पर्नेहरू विश्वविद्यालय जस्तो मन्दिरमा कार्यरत हुन पुगे।
सत्यता लुकाएर लुक्ने चिज होइन।  यथार्थता यहि हो, हाम्रो देशको विश्वविद्यालयको पढाइको स्तर खत्तम छ। त्यहि खत्तम पढाइ पुरा गर्न लाग्ने अवधि झनै खत्तम छ। 

डिस्कवरी च्यानलमा बाघले मृगको बच्चालाई खेलाइ खेलाइ नपत्याउदो पाराले मारेको देख्नु भएकै होला। जनावर भिन्न हो। तर कहानी उस्तै छ। विश्वविद्यालयले देशको अभिभावकका छोराछोरीलाई पनि शिक्षा र सर्टिफिकेटको आशमा झुलाइ झुलाइ मार्नै आँटेझै लाग्छ। 

दुई वर्षको पढाइ सकाउन चार वर्षदेखि दौडिरहेको छोरा ।
छोराले कहिले पढाइ सकाउला र कमाउन थाल्ला भनि सपना बुनिरहेका बा-आमा।

विश्वविद्यालयले छोरालाई झुलाइ रहेको छ। छोराले बा‍‍-आमालाई झुलाउनु परेको छ। 
बा-आमाले उसलाई झुलाउनु परेको छ, जसको छोरीसँग आफ्नो छोराको लगनगाँठो कसिदिने वचन अझै पुरा हुन पाएको छैन। 

लेखपढ गरि विश्वविद्यालय तहसम्म आइ पुग्दा यहाँ एक व्यक्तिको जीवन र भविष्य विश्वविद्यालयले गर्ने निर्णयमा निर्भर हुन्छ। जब विश्वविद्यालय नै उसको भविष्य र भावनासँग खेलबाड गरि रमिता हेरेर बस्न थाल्छ, त्यति बेला हामी विद्यार्थी निरीह भएर सहनु पर्ने हो र ?
सधैँ विश्वविद्यालयको लालच र लाचारिपनमा विद्यार्थी आफू पनि लाचार भएर बस्नु पर्ने हो र ?
खै बुझेको विश्वविद्यालयले विद्यार्थीको मनोभावना र पिडा ?

विगतमा विश्वविद्यालय आफ्नो निर्णयमा कहिल्यै मजबुत भएको पाइनँ। केहि विद्यार्थी नेताको दवाबमा आएर मनलागि परिक्षा सार्थ्यो। जो विद्यार्थी राजनीति गर्दैन, जो विद्यार्थी आफ्नो कामकाजलाई थाँति राखेर समयमै पढाइ पुरा गर्न भनि निरन्तर कक्षा धाउँछ। ती विद्यार्थी त सम्बन्धित प्रशासनको नजरमा कहिल्यै पर्दै परेनन्। र विश्वविद्यालयले उसको मेहनत र लगनशिलता पनि कहिल्यै देखेन।
बाहिर जागिर गर्दै कहिलेकाहिँ कलेज आउने र चिट चोरेर भए पनि परिक्षा पास गर्ने विद्यार्थीहरू मात्रै प्रशासनको नजरमा परे। आखिर विश्वविद्यालयमा पनि बिक्ने भनेको बोल्नेकै पिठो रहेछ। 
दिनमा कम्तिमा पनि छ घन्टा कक्षामा बसेर केके नै पढाए र पढे जस्तो गरेर के गर्नु छ र ? यद्यपि देशमा नपढेकाभन्दा पढेकाहरू बढी वेरोजगार छन्। शिक्षितहरू धेरै जसो विदेशमा छन्। कलेको वातावरण र विगतमा विदेशमा पढेर आएका प्रोफेसरहरूको फुर्ति देख्दा लाग्छ, यहाँ जति मेहनत गरे पनि आखिरमा हामीले पनि भासिनु पर्ने त विदेशतिरै हो क्यारे !
 नियमित विद्यार्थी भएर पनि स्नातकदेखि स्नातकोत्तर तहसम्म आउदा करिब ९ वर्ष खर्चिसक्यौँ।  विश्वविद्यालयले  घोकेको एउटा शैक्षिक प्रमाणपत्र बाहेक के दियो र हामीलाई ? यहि प्रमाणपत्र दिन पनि अनेकौँ सास्ति दिन्छ विश्वविद्यालयले।

व्यक्ति शिक्षित हुनु र दक्ष हुनु अलग  कुरा हो। दक्ष व्यक्तिलाई शिक्षित भन्न मिल्ला तर शिक्षित व्यक्तिलाई दक्ष भन्न मिल्दैन किनभने दक्ष व्यक्तिमा व्यावहारिक ज्ञान र सिप हुन्छ, शिक्षित व्यक्तिमा केवल घोकेको विद्या मात्रै हुन्छ।
सिप र तालिम अनि कार्यकुशलताको कुरा गर्दा हामी सबै शून्यमा छौँ। के यो देशमा विश्वविद्यायलको काम शैक्षिक वेरोजगार उत्पादन गर्ने मात्रै हो र ? लाग्छ, हामी पढ्दै आएको विश्वविद्यालयले देशको लागि दक्ष जनशक्ति होइन, शिक्षित वेरोजगार उत्पादन गरिरहेको छ। यस अर्थमा हाम्रो विश्वविद्यालयलाई दक्ष जनशक्ति उत्पादन गर्ने मन्दिर होइन, शिक्षित वेरोजगार बढाउने कारखाना भने हुन्छ।

मभन्दा एक ब्याच सिनियर दाई-दीदिहरू वि.सं. २०७३ को ब्याचका हुन्। २०७७ सालमा मास्टर्स तह पास आउट भए। केहि त अझै पनि थेसिस गर्ने झमेलामा फसिरहेका छन्। महिना दिन पहिले कलेज जाँदा देख्थेँ उहाँहरूलाई। हामी २०७४ को ब्याचका हौँ। दुई वर्षमा पुरा हुनु पर्ने पढाइ। अहिले २०७८ सुरु भइ सक्यो। अझै दोस्रो वर्षको दोस्रो सेमेस्टरमा अल्झिरहेका छौँ। यहि बैशाख २९ बाट बोर्ड परिक्षा हुने तालिका थियो। कोरोनाको दोस्रो लहरको निहुँ पारेर परिक्षा स्थगित गरियो। परिक्षा सकेपछि प्रयोगात्मक परिक्षण र थेसिसको काम गर्नु पर्ने। हामी विद्यार्थीहरूले यस्तै गर्ने मनसाय बनाइसकेका थियौँ। परिक्षा नै स्थगित भएपछि म मात्रै होइन, मेरा सबै साथीहरू अन्योलमा छन्, अब परिक्षाको लागि किताब घोक्नु कि थेसिसको काम सुरु गर्नु !

केहि दिन अन्योलमा परेपछि त पहिले पढेका कुराहरू पनि सबै बिर्सिदो रहेछ। मैले त सबै बिर्सिसकेँ किनकी मेरो दिमाग सरकार र प्रशासन चलाउनेको जति तिखो छैन। दिमागको प्रयोगले अन्य मानिसलाई वेकारमा झुलाएर उसको भावना र जीवनसँग खेल्न मेरो मनले मान्दैन। परिक्षाको लागि आफै मेहनत गरेर तयारी गर्छु, सकेको र सम्झेको लेख्छु। दुखको कुरा के भने, लेखेको जति अंक पनि आउदैन। ठाउँका मानिसहरूले नचिन्ने र आफूले पनि कसैलाई नचिनेको। अन्य क्षेत्र जस्तै शैक्षिक क्षेत्रमा पनि राम्राभन्दा हाम्राको स्थान पहिले आउदो रहेछ। मेहनत गरे जतिको प्रतिफल नपाउदा दुखेसो पोख्न पनि कहाँ जानु र ? यसर्थ परिश्रम गर्छु, फलको आश राख्दिन।

२०७८ सालमा पनि स्नातकोत्तर पुरा नहोला जस्तो छ, विश्वविद्यालयको यो नियतिले। 
विदेशमा अप्लाई गर्दा सिनियर दाई-दीदिलाई "दुई वर्षको पढाइ सकाउन झन्डै ४ वर्ष किन लाग्यो ?" भनेर सवाल गरेछन्। सायद् कोरोनाकै कारण बताए होलान् जवाफमा। कतिले त यो जवाफ माने होलान्, कतिले मानेन  होलान्।
केहि दाइ-दीदि त जवाफ खोज्न के-के का‍गज बोकेर कलेजमै आएका पनि देखेको थिएँ। 

भोलि त्यहि समस्या म र मेरो ब्याचका मात्रै होइन,  हामीभन्दा पछिल्ला ब्याचका भाइ-बहिनीहरूले पनि खेप्नु पर्ने हुन्छ। यसमा जवाफदेही हुने को त ? यसमा हामी विद्यार्थीको गल्ति त पक्कै छैन। गल्ति गर्ने विश्वविद्यालय अनि यसको परिणाम भोग्नेचाहिँ हामी ? यो कुन तरहको न्याय हो र ? विश्वविद्यालयले त विद्यार्थीलाई आफ्नो इसारामा यसरी झुलाइ राखेको छ कि मानौँ यसकै खर्चमा विद्यार्थीले पढ्न पाइरहेका छन्। विद्यार्थीले आफ्नै खर्चमा अध्ययन गर्दा त यस्तो हालत छ, झन् विश्वविद्यालयले नै लगानी गरेर पढाएको भए त परिस्थिति झन् कति भयानक हुन्थ्यो होला ? सोँच्दा पनि जीउ सिरिङ्ग हुन्छ। 
बरु विद्यार्थीले समयमै शुल्क नतिरेको भए भनोस्। पढेर कोर्स नसकाएको  भए प्रशासनले प्रश्न गरोस्।
विश्वविद्यालयको नियम कानून नमानेको भए सजाय देओस्। तर विश्वविद्यालय स्वयम् आफूले बनाएको नियम तोड्ने कारक नबनोस्। विद्यार्थीको भविष्यलाई लिएर यति सारो गैरजिम्मेरवार नबनोस्। यसरी देशको युवा वर्गको भविष्यसंग खेल्ने हक विश्वविद्यालयलाई छैन। 

कोरोनाको कारणले मात्रै हाम्रो पढाइ सकाउन बढी समय लागेको म मान्दिन। मेरा अन्य साथीहरू पनि यो मान्न तयार छैनन्। मेरा कलेजमा पढ्ने साथीहरू मात्रै होइनन्, त्रिभुवन विश्वविद्यालयका अन्य कलेजमा अन्य संकायमा स्नातक तथा स्नातकोत्तर तह अध्ययनरत साथीहरू पनि कोरोनाले गर्दा पढाइ पुरा हुन ढिला भएको मान्न राजी देखिन्नन्। फेसबुक, ट्विटर लगायतका सामाजिक सन्जालमा राखिएका पोस्टहरू पढ्दा र अहिले भोगिरहेको अवस्था देख्दा सारै दुख लाग्छ। 
सामाजिक सन्जालमा कति विद्यार्थीहरूले "बरु भौतिक कक्षाहरू बन्द गरेर अनलाइन कक्षा गर्न थालियोस्। तर परिक्षा स्थगित नगरियोस्। हामी सामाजिक सुरक्षाका मापदण्द अपनाएर परिक्षा दिन तयार छु।" भनेर पोस्ट राखेका थिए। सायद् सम्बन्धित ठाउँमा यस्ता अनुरोध पुगेन भनुँ या पुगेर पनि मनन गरिएन भनुँ। परिक्षा स्थगित गरियो। यतिका दिनसम्म गरेको मेहनत खेर। काठमाडौँमा डेरा बसेर तयारी गरेको लगानी खेर। परिक्षा सकेर महिनौँपछि घरमा परिवार भेट्न जाने सपना खेर। भलै केहि साथीहरू त लकडाउन हुने भने पछि घर गए होलान्। तर धेरैजसो काठमाडौँमै छन्। सरकारले निर्णय लिन्छ, तर ठोस निर्णय लिदैन। सम्पूर्ण जनता एवम् विद्यार्थीलाई अन्योल पार्ने निर्णय गर्छ। यस्ता अपरिपक्क निर्णय गर्ने भएकोले आजकल सरकारलाई सरकार होइन, शिशु भन्न मन लाग्छ।

सरकारले जनताको दैनिकी र भावनासँग खेल्दै छ, विश्वविद्यालय विद्यार्थीको भावना र भविष्य अनि परिश्रमसित खेल्दै छ। होइन, यो माथिल्लो प्रशासनमा त खेल्न सिपालु मानिसहरू मात्रै पुगेका हुन्छन् कि कसो ? 
यस्तै खेल खेल्न सिपालु हुनेहरूले त देशलाई फिफाको मैदानसम्म पुर्याउनु नि । हामी सोझा-साझा जनता र विद्यार्थीले उनीहरूको के नराम्रो गरेका थियौँ र, यसरी दुख दिइरहेका छन् ?

आजका हामी विद्यार्थीमध्ये कोहि न कोहि त भोलि अवश्य त्यहि प्रशासन सम्हाल्न पुग्छौँ। आज त्यहि प्रशासन चलाइरहेका विज्ञहरूले भोलि त्यो ठाउँमा आएपछि हामीले पनि त्यस्तै तलब पचाउ काम गर्नु पर्ने सन्देश दिन खोजेका हुन् कि कसो ?

सिधै भन्दाखेरि  रिस गरेको जस्तो, तर केहि दिन पहिले जब मैले परिक्षा नियन्त्रक कार्यालय बल्खुले निकालेको अर्को सुचना नआएसम्मको लागि परिक्षा स्थगन गरिएको सुचना पढेँ। मलाई त त्यो सुचनामा  प्रयोग भएका शब्दहरू पढेरै दिमागको पारो तात्यो। सुचनामा व्यहोरा भएअनुसार कोरोनाको कारणले गर्दा  परिक्षा नियन्त्रक कार्यालय तोकिएको समय तालिकामा परिक्षा सन्चालन गर्न असमर्थ छ रे। देशको एउटा प्रतिष्ठित शैक्षिक संस्था  भएपछि त हद हुन्छ नि ! परिक्षा नियन्त्रक कार्यालय परिक्षा सन्चालन गर्न किन असमर्थ ? विद्यार्थीहरू परिक्षा हलमा नआउने भएकोले ? कार्यालयका कर्मचारी काममा नआउने भएकोले  ? अथवा यस्तो निर्णय लिने व्यक्ति नै आफू कोरोना लागेर मर्छु कि भन्ने डरले ? म भन्छु, क्षणक्षणमै यस्ता  निर्णय फेरिरहने मानिसहरू त मरे पनि देशलाई केहि घाटा हुँदैन। जसले आजको काम भोलिको लागि छुट्याउँछ, त्यसले भोलिको काम कहिले गर्ने ? यसै पनि सरकारी जागिरेहरूमा आफ्नो कार्यालयको काम तोकिएकोभन्दा बढी लिएर गर्ने बानी हुन्न। काम थाँति राख्दै जाने परिपाटीले गर्दा कामैकामको चाङ्ग बन्छ। अनि कार्य सम्पादनमा ढिलसुस्ति किन नहोस् त !

विद्यार्थीहरूले परिक्षा दिन आउने  कुरा विभिन्न सामाजिक सन्जालमा राखेकै थिए। परिक्षा तैयारी पनि गरिरहेकै हो। अभिभावकबाट यति दवाब आएको थियो कि भौतिक कक्षाहरू बन्द गरेर अनलाइन पढाउने व्यवस्था मिलाऊ। अब बहुसंख्यक विद्यार्थीले "सरकारले तोकेको मापदन्ड पालना गरेर भए पनि हामी परिक्षा दिन तयार छौँ। परिक्षा सार्ने काम नगरौँ।" भनेर बारम्बार अनुरोध गर्दा पनि सम्बन्धित संस्थाले मनन गरेनन्। सरकारले पनि बुझ पचाएरै भनौँ, यातायात बन्द गर्यो। अनि सबै विद्यार्थीहरू अलपत्र पर्यो। यस अर्थमा असमर्थ रहेको को हो त ? सम्बन्धित प्रशासन होइन ? 
सायद् उनीहरूलाई डर भयो, "धित मर्ने गरि जागिर खान र पैसा कमाउन नपाएरै कोरोनाको निहुँले मरियो भने के गर्ने ? " फेरि पनि म यति भन्न चाहन्छु, तिमीहरू प्रशासनमा बाँचेर पनि हामी विद्यार्थी टुहुरा सरह भइसकेका छौँ। अब हामी टुहुरो जीवन बिताउन तयार छौँ। 

विद्यार्थीको हालत के-कस्तो छ ? न सरकारले सोँचेको पाइयो, न त विश्वविद्यालयले नै सोँचेको महशुस भयो हामीलाई। सहाराबिना टुहुरा जस्तै बनाएर राख्यो।  प्रशासनले कार्यालयमा सँगै अफिस कोठामा खाजा खाने, गफ गरि बस्ने कर्मचारीको चिन्ता लियो, यसैले परिक्षा सार्यो। तर त्यहिँको कक्षा कोठामा बसेर उज्ज्वल भविष्यको सपना देख्दै लेखपढ गर्ने विद्यार्थी सम्झेन। सम्झोस् पनि कसरी, विगत एक वर्षदेखि कक्षामा राखेर पढाएको भए पो याद हुन्थ्यो, विद्यार्थीको अवोध अनुहार ! पढाइको नाउँमा अनलाइन पढाएको र पढेको जस्तो त भयो। तर यो डोकोमा पानी भरेको भन्दा कम थिएन। विद्यार्थीले बुझे-नबुझेको मतलब हुन्थेन,  कोर्स सकाउने  बाटो मात्रै। हाम्रो त सबै विषयको कोर्स पनि राम्ररी सकेको थिएन। तैपनि पढाइएको र सिलेबसमा भए जति पढेर परिक्षा दिने आँट गरेका हौँ। तर कुरा उहि,  ..........., दुख लाग्छ। 
 देशको सेवा गर्न भनेर सेवा आयोगको परिक्षा उतीर्ण गरि सरकारी जागिर खाएकाहरूको व्यवहार यस्तो छ। यस्ता व्यक्तित्वहरूबाट हामीले के शिक्षा सिक्ने, के प्रेरणा लिने ? यदि यो चक्र चलिरहने हो भने विश्वविद्यालयको स्तर कहिल्यै सप्रिने छैन। 

भौतिक उपस्थितिमा परिक्षा नहुने भए अनलाइनबाट भए नि परिक्षा  हुनु पर्यो भनेर साथिहरूले माग गरिरहेका छन्। के प्रशासनले विद्यार्थीको माग सुन्ला र ?  सोँच्न त सोँचेका होलान्। सोँचेर बस्नु मात्रै प्रशासनको काम होइन। प्रशासनले एक कदम चाल्न जति ढिलो गर्छ, विद्यार्थीको भविष्य उति धरापमा पर्छ। 

अनलाइनबाट भए पनि परिक्षा सक्न पाए विद्यार्थीले पनि यसपछि के गर्ने, कसो गर्ने मेसो पाउथ्यो। यति बेला त सरकार पनि अलमल्ल, कैयौँ विज्ञ कहलिएका व्यक्तिहरू कार्यरत विश्वविद्यालय पनि अलमल्ल। अब अलमल्ल प्रशासनको अधीनमा रहेका हामीहरू झन् अलमल नहुने कुरै भएन। अलमल्लमा मात्रै कति बस्ने ? 
डब्ल्यु.एच्.ओ.ले सित्तैमा उपलब्ध गराएको खोप लगाइ दिएर जनताको लागि केके नै गरेको छु भनेर मख्ख परेको सरकार। विश्विविद्यालय तहका विद्यार्थीलाई शिशु कक्षादेखिका बच्चाहरूले पढिरहेका अनलाइन पढाएर केके नै उपलब्धी हाशिल गरेँ भनेर बोल्दै हिड्ने शिक्षकहरू। तपाईँहरूले बुढेसकालसम्म जानेको कुरा यति नै हो  र ? 

मैले स्नातकोत्तर तह सुरु गरेको करिब पाँच महिनापछि स्नातकोत्तर गर्न विदेश जानु भएको मैले चिनेको एउटी दीदि पढाइ सकेर घर फर्किसक्नु भयो। यता आएर जागिर खान थालिसक्नु भयो।  मैले पनि स्नातकोत्तर सकेँ भनि उहाँलाई कहिले सुनाउन पाउछु ? भेट हुँदा उहाँले सोध्नु हुन्छ, पढाइको बारेमा। लाज लाग्छ बताउन। 
लाज मैले आफूलाई लिएर मानुँ या आफ्नो विश्वविद्यालयलाई लिएर ? लाज मैले विदेशमा पढ्न पठाउने खर्च जुटाउन नसकेका मेरा बा-आमालाई लिएर मानुँ या दुई वर्षको पढाइ सकाउन चार वर्षदेखि संघर्ष गरिरहेको देख्दा पनि विद्यार्थीको लागि केहि नौलो कदम चाल्न नसकेका मेरा गुरुवर्गलाई लिएर मानुँ ?

विश्वविद्यालय प्रशासनले त आफ्नो कार्य सन्चालन क्षमता र व्यवस्थापन शैली देखेर लाज पचाइ सकेको होला। तर हामी विद्यार्थीले कसरी लाज पचाउनु ? अब त यस्तोसम्म लाग्न थालिसक्यो, बरु लागिहालेछ भने कोरोना पचाउन सक्छौँ तर विगत चार वर्षदेखि परिवार, आफन्तजन र साथीभाइलाई सुनाउदै आएको "मास्टर्स गर्दै छु" भन्ने कुरा सुनाउनु पर्दाको लाज पचाउन गारो भइसक्यो। धैर्य पनि कति गर्नु ? 

यसर्थ अब त हामीलाई सहन र चुप रहन पनि कठिन भइसक्यो। 
तेस्रो सेमेस्टरमा पनि परिक्षा हुने दुई दिन अगाडि परिक्षा स्थगित भयो । दुई घण्टाको दरले पाँच ओटा विषयको दश घण्टाको परिक्षा सक्न करिब दश महिना कुर्नु पर्यो। परिक्षा हलमा दुई घण्टा बसेर लेखेको उत्तरपुस्तिकाले मात्रै हाम्रो भविष्य निर्धारण गर्ने हो र ? यदि यस्तो हो भने हामीलाई यति पुरानो शैक्षिक पद्धति र मुल्यांकन शैली स्विकार्य छैन। विश्वविद्यालयले अब आफ्नो शैली बदल्ने बेला आएको छ। 

शिक्षा विद्यार्थीमैत्री हुनु पर्छ भनेर सभा-समारोहमा भाषण छोड्नेहरू हो, के तपाईँहरूलाई साचिकै लाग्छ विश्वविद्यालयको शिक्षा पद्धति विद्यार्थीमैत्री छ ? 
हामी विद्यार्थीलाई त यस्तो पटक्कै लाग्दैन। यहाँ शिक्षा पद्धति विद्यार्थीमैत्रि होइन, कर्मचारीमैत्री छ। 
प्रशासनले शिक्षासम्बन्धि कुनै पनि निर्णय लिदा विद्यार्थीको भावना हेर्दैन, कर्मचारीको सहमत छ कि छैन मात्रै हेर्दछ। चाहे शुल्कका कुरा होस् या परिक्षाका। हरेका पक्षमा विद्यार्थी मर्कामा परेका छन्। 

गएको वर्ष कोरोनाको कारण एक महिना पनि भौतिक उपस्थितिमा कक्षा गराइएन। तर  शुल्क भने विद्यार्थीको ढाड सेकिने गरि कलेज जादा पिउने गरेको पानीको समेत समावेश गरेर लियो। विद्यार्थीले शुल्क अलि कम गर्न निवेदन पनि राखेको हो। तर विश्वविद्यालयले कसैको सुनेन। पैसाको कुरामा भने विश्वविद्यालय आफ्नो निर्णयमा अडिग रहने। तर राम्ररी कक्षा सन्चालन गर्ने र परिक्षा समयमै गराउने निर्णयमा किन अडिन रहदैन ? कहाँसम्मको ज्याजदी हो विश्वविद्यालयको यस्तो ? आखिर विश्वविद्यालय सन्चालनमा आएको यहाँको कर्मचारीले पैसा छाप्न मात्रै हो कि देशलाई दक्ष र शिक्षित बनाउन हो ?

विश्वविद्यालयमा भइ रहेको यस्तो घृणापूर्ण क्रियाकलापलाई सन्चार माध्यमले पनि बाहिर नल्याउदा रहेछन्। 
युट्युबका पत्रकार पनि अर्काको पति-पत्नी झगडा गरेको समाचार बनाउन सधैँ हतारमा हुन्छन्। शिक्षाको मन्दिरमा भइरहेको गलत गतिविधिको वकालत गरेको खोइ त ?  आजकल विद्यार्थी संगठनहरू पनि पैसामुखी र व्यक्ति विशेष मात्रै भए जस्ता छन्। आवाज उठाएको कतै सुनिन्न। सबै पतन भएर गइसके कि कसो ? 

विश्वविद्यालयले त हाम्रो मर्म बुझ्दैन थाहा छ। यदि केहि गरि बुझ्ने भएछ भने हामी विद्यार्थीको एउटै अनुरोध छ, हाम्रो परिश्रम र लगानीलाई सस्तो नठानि दिनुस्। मानिसको जीवनको सबभन्दा ठुलो कुरा समय हो। समय छैन, उसको जीवन छैन। हाम्रो समयलाई मूल्यहीन ठानेर यसरी अन्योललपूर्ण र अर्थहीन नबनाइ दिनुस्। यसै पनि कोरोनाले हाम्रो आर्थिक स्थिति नाजुक छ। झनै नाजुक नपारि दिनुस्। हामीलाई परिक्षा सकाउन हतार छ। यहि चिन्ताले खाइरहेको छ। तपाईँहरूको पो सरकारी जागिर छ। सरकारको ढुकुटीबाट तलब पाइराख्नु भएको छ। परिवार चलेको छ। कोरोनाको डरलाई छोड्ने हो भने तपाईँहरूको दैनिकी त सजिलै छ। तर हामीलाई डर दिने तत्व कोरोना नभइ हाम्रो आवश्यकता हो। भविष्य हो। 
भनिन्छ, मानिस बाँचे पनि अर्थपुर्ण जीवन बाँच्नु पर्छ, मरे पनि अर्थपूर्ण भएर मर्नु पर्छ। विश्वविद्यालयको पढाइ सकाउला र जीवन अर्थपूर्ण बनाउला भनेर दौडिदा दौडिदै यस्तो दयालाग्दो हालत भइसक्यो। न परिवारको लागि जीवन अर्थपूर्ण बन्न सक्यो, न त समाजको लागि। हामी चाहन्छौँ, अब आउदा दिनहरूमा यो जीवन अर्थहीन नरहोस्।  अहिलेसम्म त विश्वविद्यालयको दुनियाँमा अल्झिरहेका छौँ, अब हामीलाई योभन्दा नि ठुलो दुनियाँमा घुलमिल हुन मन छ। यो वातावरण बनाइ दिनु पर्यो। बाटो देखाइ दिनु पर्यो। यो परिक्षाको झमेलाबाट मुक्ति दिलाइ दिनु पर्यो। 
आफ्नो सन्तानले दुई वर्षको पढाइ सकाउन चार वर्षभन्दा बढी लगाएको देख्दा कुन बा-आमालाई राम्रो लाग्ला र ? बा-आमालाई दुःख र चिन्ता दुवै हुन्छ। र यो स्वाभाविक पनि छ।
हामीलाई थाहा छ, तपाईँहरूमध्ये धेरैको सन्तान त यो विश्वविद्यालयमा पढ्दै पढ्दैनन्। उनीहरू विदेशको विश्वविद्यालयमा रमाइ रहेका होलान्। आफ्नो सन्तानको खुशीको लागि जे पनि गर्न सक्ने तपाईँ विज्ञहरू आफ्ना विद्यार्थीको लागि किन केहि गर्न अग्रसर बन्नु हुन्न ? तपाईँहरू धेरैजसोका नामको अगाडि प्रोफेसर अनि डाक्टर उपनाम जोडिएको छ। कमसेकम ति शब्दहरूको इज्जत रहने काम त गरेर देखाउनुस्। 

समयले मौका दिएको छ। परिस्थितिले शैक्षिक क्षेत्रमा केहि  नौलो प्रयोग गर्ने अवसर ल्याएको छ। अनलाइन परिक्षा गर्नुमा के खराबी छ र ? सरकारले मान्दैन, दुनियाँले मान्यता दिदैन भनेर कति टार्नु हुन्छ ? परिवर्तनको सबैभन्दा ठूलो आधार इच्छा हो, कोशिस हो। कोशिस नगरि बस्नु कमजोरी हो। हामी यो कमजोरी लिएर दुनियाँ सामु लाचार भएर कति बस्ने ? 
तपाईहरूले घोकेर पढाउनु भएको हो। विद्यार्थीले घोकेरै पढेको हो। परिक्षामा पनि घोकेकै कुरा लेख्ने हो। फरक यति हो, कसैले धेरै सम्झिन्छ, कसैले थोरै। के घोकेर परिक्षामा लेखेर पास हुनुलाई तपाईँहरू उसको दक्षता मान्नु हुन्छ र ? यसो हो भने परिक्षा हलमा घोकेका कुरा लेखेर पास हुनु र अनलाइन परिक्षामा सोहि कुरा हेरेर लेख्नुमा के भिन्नता भयो र ? आखिर दुवै शैलीमा विद्यार्थीले बुझ्ने त केहि होइन क्यारे !
कोरोना कसैले आऊ भनेर आएको होइन। र कसैले जाऊ भनेर जानेवाला छैन। यस बिचमा अब अनलाइन पढाइ र परिक्षाको विकल्प छैन। 
 घोकेर सम्झेर दुई घण्टा लेखेको उत्तरले कुनै पनि विद्यार्थीको खुवी कति छ भन्न सक्दैन कुनै पनि विश्वविद्यालयले। हामीलाई अब मास्टर्स या ब्याच्लर्स तहमै अल्झेर बस्नु छैन। धुवाँ भरेको बन्द कोठामा थुनेर राखेझैँ उकुस-मुकुस महशुस भइ सक्यो हामीलाई अब। यसर्थ छिटोभन्दा छिटो विश्वविद्यालय प्रशासनले अनलाइन परिक्षा गराउने निर्णय लिइ विद्यार्थीलाई अलमल्ल हुनबाट मुक्त बनाओस्। अनलाइन परिक्षा गराएर जति सक्दो चाँडो हाम्रो भविष्यको बाटो स्पष्ट बनाइ दिनु पर्यो। हामी सम्पूर्ण विद्यार्थीको यहि माग छ।    

अन्तमा,
विद्यार्थीलाई अन्योलमा राखेर  विश्वविद्यालय अब निदाएर बस्नु भएन। हामीले विश्वविद्यालयलाई झकझकाइरहेका छौँ। विश्वविद्यालयले सम्बन्धित मन्त्रालय र सरकारलाई झकझकाउनु पर्यो। पढाइ र परिक्षा सन्चालनमा नयाँ आयाम ल्याउनु पर्यो। विद्यार्थीलाई अन्योलतामा झुलाउनु भएन। समस्याको निकास खोज्नु पर्यो। अलमल्ल परेर समय खेर फाल्नुभन्दा केहि न केहि बाटो रोज्नु पर्यो।
यो लेख मार्फत सन्चार माध्यम र विद्यार्थी संगठनहरूलाई हामी विद्यार्थीको एउटै अनुरोध छ, हामी विश्वविद्यालयको मारमा परेका छौँ। हाम्रो समस्या बाहिर ल्याइदिनु पर्यो। हाम्रो पुकार सुनिदिनु पर्यो। त्रिभुवन विश्वविद्यालयको शैक्षिक क्यालेन्डर र यसअनुरुप कार्य सम्पादन भए-नभएकोमा प्रश्न उठाइ दिनु पर्यो। प्रशासनलाई विद्यार्थीको परिश्रम र लगानी बुझ्ने बनाइ दिनु पर्यो। यति गरिदिएको खन्डमा तपाईँहरूको पेशाले पनि तपाईँहरुको इमान्दारितामाथि गर्व गर्ने छ। र हाम्रा आत्माले तपाईँको कर्मको महिमा गाउदै सत्कार गर्ने छ। 👏👏


                                                                - त्रिभुवन विश्वविद्यालयद्वारा पिडित विद्यार्थी


अनलाइन परिक्षा माग गरेका विद्यार्थीका केहि प्रतिनिधि पोस्टहरू तलको लिंकमा गइ पढ्न सक्नु हुन्छ 👇

विद्यार्थी आवाजका केहि प्रतिनिधि स्क्रिनसटहरू 👇👇

 


यस ब्लगका अन्य पोस्टहरू पढ्न तलको लिंकमा जानु होस्ः
नोटः
यो पोस्टमा अनलाइन परिक्षाको लागि आएका विद्यार्थीको माग र आवाजलाई मात्रै समावेश गरिएको छ। विश्वविद्यालय प्रशासनको विचार, तयारी र अप्ठ्यारा परिस्थितिहरूबारे कुनै तथ्य राखिएको छैन। यसर्थ हाम्रो आवाज मारमा परेका विद्यार्थीको हो, र कसैले यसलाई अन्यथा नमानि दिनु होला र सम्बन्धित प्रशासनका पदाधिकारीहरूले यो आवाजबारे मनन गरोस् भन्ने हाम्रो चाहना छ। धन्यवाद !!

बुधवार, 10 मार्च 2021

जीवनमा जुनसुकै कुरा जब सजिलै सोचेभन्दा बढी प्राप्त हुन्छ ........

 मुसा धेरै दिनदेखि खाने कुराको खोजिमा थियो। ऊ यस्तो ठाउँ खोजिरहेको थियो, जहाँ कुनै मेहनत नगरी धेरै दिनसम्म खाना पाइयोस्। एक दिन ऊ चामलले भरिएको बट्टामा पुग्यो। बट्टा निकै ठुलो र अग्लो थियो। बट्टाभरि चामल थियो। यो देखेर मुसा सारै खुशी भयो। 

यस दिनबाट मुसा उहि चामल खाँदै त्यहि बट्टामा बस्न थाल्यो। कोठा अँध्यारो थियो। घरको मानिसहरू  कोहि पनि त्यहाँ हेर्न आउँथेनन।  खाना खोज्न मेहनत गर्न नपरेकोले मुसा पनि खुशी साथ चामल खादै त्यहि दिन-रात बिताउन थाल्यो। दिनहरू बित्दै गए, बट्टाको चामल कम हुदै गयो। मुसा पनि सजिलै खान पाएकोले मोटाउदै आयो। 

केहि दिनपछि चामल बट्टाको पिँधमा पुग्यो। बट्टाभित्र मुसाको फोहोर पनि थुप्रिदै आयो। यसैले मुसालाई त्यहाँ बस्ने इच्छा कम हुदै आयो। निकै दिनदेखि रसिलो कुरा खान नपाएकोले उसलाई तिर्खा पनि लाग्न थाल्यो। यसर्थ बट्टा छाडेर कतै जानु नै उचित लाग्न थाल्यो उसलाई। 

यहाँबाट सर्ने मनसाय बनाएपछि उसले आफू वरपर हेर्यो। भुईँमा खाएर आफैले गरेको फोहोर मात्रै देख्यो। नभन्दै अब बट्टामा चामलको दानाभन्दा उसैले गरेको फोहोर ज्यादा थियो। अब उसलाई यो पनि थाहा भयो, चामल सकिदै बट्टाको पिँधमा पुगिसकेको रहेछ। 

बट्टाको मुख निकै माथि थियो। मोटाएकोले उफ्रेर मुखसम्म पुग्न सक्ने शक्ति उसमा थिएन। बट्टा बाहिर झन् कसरी निस्किने ? अब उसलाई चिन्ता हुन थाल्यो। बट्टा भित्र ऊ दगुर्यो, यता-उता निकै कुद्यो, धेरै पटक उफ्र्यो। तर ऊ बट्टाको  मुखसम्म पनि पुग्न सकेन। निरास भएर त्यहि बस्यो। 

सोहि दिन उक्त कोठाको ढोका खुल्यो। बट्टा पारदर्शी भएकोले उसले भित्रबाटै मान्छे आइरहेको देख्यो।  छेउमा आइ पुगेपछि मान्छेले उक्त बट्टा हातमा लिदै बोल्यो, ''उम् ...., बल्ल परेछस् फन्दामा !"

 यति बोलेर उक्त बट्टा बोकेर मान्छे कोठा बाहिर निस्क्यो। 

मुसा कराउन थाल्यो, ''नाईँ, मलाई मर्न मन छैन। ए मानव, मलाई छोड्देऊ, मलाई छोड्देऊ ..... ! "


।। समाप्त ।।

सामाजिक चेतनाः 

जब कुनै कुरा सोचेभन्दा बढी सजिलै प्राप्त हुन्छ, तब हामीले विचार पुर्याउनु पर्छ, पक्कै पनि केहि त गलत  छ।

प्रतिफल भनेको मेहनतको मात्रै मिठो हुन्छ। 


----- महा शिवरात्रीको पावन अवसरमा सम्पूर्ण पाठकजनमा हार्दिक शुभ-कामना। 

---- शुभकार्य गर्दा दशा र शिवरात्रीको बेला गाँजा-भाङ्गको नशाबाट सकभर टाढा रहनु होला।  







सोमवार, 8 मार्च 2021

समाजमा देखेको एउटा घटना

 नेपाली मिति: २४/११/२०७७ 

म आफू पनि अलि भावुक किसिमको व्यक्ति हुनाले छिमेकमा देखिने स-साना घट्नाले पनि मलाई छुन्छ।

देखेको कुरा लेख्न मन लाग्छ। 

लेखेको कुरा अरुलाई पढ्न दिन मन लाग्छ।

पढ्ने रुचि नदेखाए सुनाउन मन लाग्छ। 

सुन्ने इच्छा पनि नदेखाए देखाउन मन लाग्छ, 

ता कि देख्नेलाई दिक्क नलागोस्, र यस्ता विषयबारे चेतना जाग्रित पनि होस्।  

घट्ना हिजोको हो। ट्युशन पढाउन म छिमेकी घरमा गएको थिएँ। संवोधनमा मैले काका भन्ने व्यक्तिको छोरोलाई पढाउन हिजोबाटै सुरु गरेको हुँ। साँझ ५ बजेतिर म त्यहाँ पुग्दा काका र काकी पनि अफिसबाट भर्खरै आइ पुगेका रहेछन्। उहाँहरूका एक मात्र छोरा (नाम: सहिन ) पनि स्कुलबाट आइ पुग्यो।

केहिबेर पछि पढाइ सुरु गर्न हामी सहिनको कोठामा आयौँ। आउदै गर्दा मैले सुनेँ, 'तिमी बस्दै गर। म सबैको लागि चिया बनाएर ल्याउछु।' सहिनको बुवाको आवाज थियो यो। अचम्म तुल्यायो उनको बोलीले मलाई। यध्यपि मैले कुनै प्रतिक्रिया जनाइँन। उनले यसो भनेको आफ्नी श्रीमतिसँग थियो।

पढाउन सुरु गरेँ। कक्षा १० को गणित र विज्ञान विषय। आफ्नै ठाउँमा गारो पनि। सजिलो पनि। तर मलाई चाहिँ विषय पढाउन एकदमै रमाइलो लाग्छ।  यी दुई विषयहरू पढिरहदा र पढाइ रहदा कैल्यै दिक्दार महशुस भएन मलाई। 

केहिबेर पछि चिया लिएर सहिनको बुवा र आमा दुवै जना हामी भएको कोठामा आए। सहिनको बुवाले टेबलमा राखेपछि ट्रेमा ४ कप कालो चिया देखेँ। चियाको रंग हेर्दा कागती पनि हालेको जस्तो देखिरहेको थिएँ। चिया सहिनको बुवाले ल्याएका थिए, उनैले सुरुमा मलाई दिए। अलि असहज महशुस गर्दै लिएँ। घरमा सधैँ आमा र दिदीको हातबाट चिया र खाने कुरा लिने बानी। कोहि पुरुषको हातबाट चिया लिदा पसलमा चिया पिउन आएको हो कि जस्तो लागिरहेको थियो। 

उनले चिया सहिनलाई पनि दिए। यसपछि सहिनकी आमालाई अनि आफ्नो भाग पनि लिए।

'मैले चिया बोक्न खोज्दा मान्नु भएन। गारो भयो होला तपाईँलाई !' चियाको कप लिदै गर्दा सहिनकी आमाले बोलेकी थिईन्। 

'के को गारो हो र बुडी, आफ्नै परिवारको सेवा गर्न पनि ?' सहिनको बुवाको हसिलो प्रतिक्रिया थियो यो। सहिनको आमाको मुहारमा उज्यालो छाएको थियो।

'त्यो त हो। तर भर्खर अफिसबाट थाकेर आउनु भाथ्यो। त्यहि भएर ....... ' 

'तिमी पनि सँगै थाकेर आएकी हौ नि ! आफिस जानु अघि तिमीले सेवा गरेकी थियौ, आएपछि मेरो पालो ..... '

बुढाबुढीको कुरा सुन्दा एउटै कुरा अनुमान लगाउन सकिन्थ्यो, 'कति गहिरो प्रेम र सदभाव छ उनीहरू बिचमा ! '

मैले आफ्नो घरको वातावरण सम्झेँ। बुवाको के कुरा, मैले पनि आजसम्म आमा कामबाट थाकेर आउनु हुदाँ एक गिलास पानी समेत दिएको छैन। सोच्थेँ, 'यो त आमाकै काम हो। लिएर खानु हुन्छ नि आफै।' सायद् पुर्खौँदेखि चल्दै आएको पुरुष्यत्व हावी भएको हुदो हो ममा। लेखपढ गरेर समाजमा ठुलो व्यक्ति हुनु पर्छ भन्ने ज्ञान पाएँ परिवारबाट। तर घरको काममा सघाउनु पर्छ भन्ने चेतना कसैले दिएनन्। धेरै सुखले पनि मानिसलाई कुमार्गतर्फ धकेल्छ भनेको सायद् यहि होला। 

प्रायजसो आमा र बुवाको अफिसबाट घर आउने समय एउटै पर्छ। घर आउने बितिक्कै थाकेकी भए पनि आफ्नो थकान बिर्सेर आमाले बुवाको लागि खाने र पिउने कुरा ल्याइदिनु हुन्थ्यो, बुवा बसिरहनु भएकै कोठामा। आमा नभए यसरी बुवा र मेरो सेवा गर्ने काम दिदीको हुन्थ्यो। मेरा आखामा मेरो लागि हरदम माया दर्साइ राख्ने दिदीको मुहार झुल्किरहेको थियो यति बेला। नर्स हुनु हुन्छ दिदी। यति बेला हस्पिटलको कुनै बिरामीको सेवामा खटिनु भएको होला। काम गरेपछि तलबको कुरा आफ्नै ठाउँमा छ। तर त्यहाँ पनि दिदीलाई साथ दिने कोहि छैन। लाग्छ, म भाइ भएर पनि दिदीलाई आफ्नो भाइ भएको महशुस कैल्यै दिलाउन सकेको छैन। आज सोच्दा सारै दु:ख लाग्यो।

यो घरको यो वातावरणले म नि:शब्द भएँ। शिक्षाले चेतना ल्याउँछ। व्यवहारमा परिवर्तन ल्याउँछ। व्यक्तिलाई सभ्य बनाउँछ भन्थे। हाम्रो परिवार जतिसुकै शिक्षित भए नि व्यवहारमा परिवर्तन नआएको महशुस भयो मलाई। 

'सर, अब यो प्रश्न सिकाइ दिनुस् न !' सहिनको आवाजले झस्किएछु म। अरुबेला कुन प्रश्नको हल कसरी सिकाउने भन्ने सोँचमा हुन्थ्यो मस्तिष्क। आज घरको कुराले मलाई ओगटिरहेको थियो। सहिनले भर्खरै सोधेको प्रश्न कठिन थिएन। उसले सोधेझैँ मैले त्यहि सिकाउन थालेँ। 

'ल बाबु, राम्ररी सिक है सरसँग। केहि पर्यो भने हामीलाई भन। हामी त्यहिँ हुन्छौँ।' अर्को कोठातिर दर्साउदै सहिनको बुवाले भने।

सहिनले मुस्कुराउदै 'हुन्छ' को भावमा टाउको हल्लायो।

यसपछि सहिनको बुवा आमा कोठा बाहिर निस्के।

सायद् उनीहरू साझँको खाना तयार गर्न जाने सुरमा थिए।

गणित विषयको केहि प्रश्नहरू हल गरेपछि विज्ञान विषय सुरु गर्यौँ। 

मैले सहिनलाई गणित र विज्ञान कति सिकाउन सक्छु, यो त भविष्यले बताउला। यसमा उसको मेहनतले पनि ठुलै भूमिका खेल्छ। तर यो परिवारबाट मैले पनि धेरै उपयोगी कुराहरू  सिक्न पाउने आभास भइ रहेको छ। कसैलाई कुनै विषयबारे सिकाउनु आफैमा ठुलो कुरा हो। कसैबाट केहि कुरा सिक्नु आफ्नो उपलब्धी हो। दुुनियाँ यसरी सिक्नु र सिकाउनुमै अडिएको छ। फरक यति हो, सिकाउनेले कतिको सहि सिकाउँछ अनि सिक्ने व्यक्तिले ति कुरा व्यवहारमा कति ल्याउँछ।

 --- मानिसको व्यवहार दुई कारणले बदल्न सक्छौँ। पहिलो, उचित शिक्षा दिएर । दोस्रो, उचित संस्कार दिएर। 

मेरो अनुभवले भन्छ, विज्ञान र गणित पढ्नेले पढाइबाट यस्ता चेतना कहाँबाट हाशिल गरोस् र ? यो देशमा यी दुई विषयहरूलाई घोकन्ते विषयको रुपमा लिनेहरू धेरै छन्। केहि कुराहरू मैले पनि घोकेरै जानेको हुँ। घोकेका कुरा र भोगेका कुरामा आकाश पातालको भिन्नता हुदो रहेछ। यसर्थ मानिसलाई घोकाइ बिनाको संस्कार दिनु पर्दछ। 

 किताब र परिवारबाट नसिकेको संस्कार मैले यो परिवारबाट सिकेको छु। सिक्नु पर्ने कुराहरू त धेरै छन्। तर घरमा नारी सम्मानको लागि यति सिकाइ पनि काफी छ। 

कुनै पनि नारी पहिले आफ्नो परिवारमा सम्मानित हुनु पर्छ। अनि मात्रै उनी समाजमा र पुरै विश्वमा सम्मानित जीवन जिउन सक्षम हुन्छिन्।

।।। आज नारी दिवस। यो लेख मेरी आमा र दिदी अनि सम्पूर्ण नारीप्रति समर्पित छ ।।।


भिडियो हेर्न तल CLICK गर्नु होस्:

 

 

समय दिनु भएकोमा हार्दिक धन्यवाद। यस्तै लेख‍-रचनाको लागि हाम्रो ब्लगलाई FOLLOW गर्नु होस्। 

nepali gajal

नेपाली गजल अण्डा सक्कल भए पो चल्ला धेरै हुन्छ, हाम्रो देशमा त कामभन्दा हल्ला धेरै हुन्छ । बाँकी भिडियोमा हेर्नु होस्।  

यी पनि तपाईँलाई मन पर्न सक्छन्।