मलाई अझै याद छ, गाउँमा हुदा भोगेको त्यो घट्ना। म त्यस्तै दश वर्षको थिएँ त्यो बेला।
चैत-बैशाखमा खडेरी लागेकोले त्यो वर्ष मकै बाली राम्रो भएन। पानी नपरेकोले मकै उम्रिनै पाएन।
हरेक साल मौसमी बालीमा हाम्रो खाना निर्भर हुन्थ्यो। कुनै साल उब्जनी राम्रो भएन भने भोकै रहनु पर्ने वाध्यता पर्थ्यो। यस साल पनि यस्तै भयो। मकै उब्जनी राम्रो नभए पछि साउन महिनादेखि नै घरमा खाद्यन्न संकट हुन थाल्यो। हाम्रो गाउँमा मात्रै होइन, छिमेकी बस्तिहरुमा पनि यहि समस्या थियो। गाउँका केहि हुने खाने व्यक्तिहरु त अन्न भण्डारण गरि राखेका हुन्थे। उनीहरूलाई खानाको समस्या थिएन। तर मेरो परिवार जस्ता केहि अन्य परिवारको अवस्था खाद्यन्न संकटले गर्दा नाजुक थियो।
भदौको महिना थियो।
घरमा गाई दुहुनो थियो। हामी भात पकाउने चामल र ढिडो पकाउने पिठो नहुदा दूध पिएरै भोक टार्न वाध्य हुन्थ्यौँ। दूधमा पौष्टिक तत्त्व धेरै भए पनि भात र ढिडो खाएको जस्तो ताकत दूध पिएर नहुने रहेछ। मैले अहिले आएर थाहा पाएको हुँ, खाली पेटमा दूध पियो भने ग्याष्ट्रिक हुन्छ भन्ने कुरा।
करेसा बारीमा फर्सीको मुन्टा हुन्थ्यो। आमाले त्यहि केलाएर पकाउनु हुन्थ्यो। हामी दुध अनि सोहि मुन्टा तरकारी खाएर भोक टार्थ्यौँ। मलाई मुन्टा मन पनि पर्थेन। भोकले मन पर्ने नपर्ने केहि भन्दैन रहेछ। खाने कुरा अरु केहि नभएपछि वाध्य भएर त्यहि मुन्टा तरकारी खानु पर्थ्यो।
म त यसै पनि बच्चेदेखि कमजोर थिएँ। भनेको बेला खान पाएन भने ठडिन समेत मुश्किल पर्थ्यो।
एक दिन यस्तै भयो मेरो हालत। अगिल्लो दिन के खाएर सुतेका थियौँ कुन्नि। मलाई याद छैन अहिले। तर हामीले त्यो रात खाना खान पाएका थिएनौँ। सायद् भोकै सुतेका थियौँ।
घरमा खरको छानो थियो। भदौको महिना । राति पानी पर्दा घरभित्र चुन्थ्यो। एक त भोको पेट, त्यसमाथि घरमा पानी चुहिएर निदाउन कठिन उस्तै। जसोतसो रात त बितेछ। तर भोलिपल्ट उठेर हिड्न मलाई गारो पर्यो।
म निकै बेरसम्म नउठेकोले होला, आमाले उठाउन आउनु भयो। म उठेँ। तर हिड्न खोज्दा ढलेँ।
"भोकले गर्दा गारो भयो ठडिन ?" आमाले सोध्नु भएको यो प्रश्न अझै राम्ररी याद छ मलाई।
म बोल्न सकिनँ। सायद् टाउको हल्लाएँ, 'हो' को भावमा।
मलाई थाहा थियो, खान दिने घरमा केहि थिएन।
बारीमा कोदो भर्खर गोड्ने बेला भएको थियो। कोदोको बोटै खानु भएन। बुवा सहरमा जानु भएको थियो। खबर गर्ने माध्यम थिएन। आम्दानी थिएन। सारै विकट गाउँ रहेछ त्यो बेला म जन्मेको ठाउँ। अहिले सम्झिदा जीउ जिरिङ्ग हुन्छ मेरो।
'के खान्छौ त उसो भए ?' त्यस बिहान आमाले सोध्नु भएको प्रश्न हो यो। घरमा केहि थिएन, थाहा थियो मलाई। तर आमाको प्रश्न सुन्दा लाग्थ्यो, सबै चिज छ घरमा।
'खाने कुरा बनाउने केहि छ र आमा ?' मैले सासले मात्रै यसो सोद्न सकेछु।
मेरो प्रश्न सुनेपछि आमाले केहि बोल्नु भएन। म भुइँमै बसिरहेको थिएँ। आमाको मुहारमा दुखको बादल मडारिरहेको थियो। घर बाहिर पनि आकाशमा उस्तै बादल छाएको थियो होला। मैले अहिले यस्तो सोच्दछु। त्यो बेला उठेर घर बाहिरको आकाश हेर्न सक्ने शक्ति थिएन ममा।
"तिमी पसल सम्म जान सक्छौ ?" आमाले आफ्नो पोल्टोमा केहि खोज्नु भए जस्तो गर्दै सोध्नु भयो।
"किन र आमा ?" मैले सासले मात्रै सोधेँ।
आमाको पोल्टोमा २० रुपैयाको नोट रहेछ। मलाई देिदै भन्नु भयो, "यो पैसा ले'र जाउ। अनि पसलबाट बिस्कुट ले'र आउ। म गाईको दूध दुहेर तताइ राख्छु।" आमाको कुराले सायद् अलि खुशी देखिएको थिएँ।
'गएर आउने कोशिस गर्छु आमा ' मैले भनेँ।
आमाले पैसा दिनु भयो। म आमाको हातको सहाराले उठेँ। उभिदा खुट्टा थररर्र काँपिरेको थियो। पाइला चाल्दा ढल्छु कि डर लाग्यो। बिस्तारै हिड्ने कोशिस गरेँ। ढल्नचाहिँ ढलिनँ। सायद् शरिरले आवश्यक पर्दा चाहिने शक्ति सन्चय गरिराखेको हुने भएर होला। घरको ढोकाबाट बाहिर निक्लिन सकेँ। खुट्टा काँप्न भने अझै छोडेको थिएन।
"बिस्तारै जाउ ल, लड्ला नि बाटोमा।" यति भनेर आमाले सतर्क गराउनु भयो।
म पसलतर्फ हिड्न थालेँ।
गाँउमा सिरान टोल र पुच्छर टोल भन्ने दुइटा टोलहरू थिए। मेरो घर, खरको छानायुक्त घर, पुच्छर टोलमा थियो भने पसल सिरान टोलमा। हिडेर जान पाँच मिनेट लाग्थ्यो। भोको पेटमा थर्थर काँपिरहेको खुट्टाले त्यो उकालो बाटो हिड्न मर्नु जस्तै गारो भयो मलाई। खुट्टाले मात्रै हिड्न सक्छु जस्तो लागेन। यसैले कुनै ठाउँमा हातले पनि खुट्टालाई सहारा दिनु पर्यो।
बाटोमा दुवैतिर सिस्नो घारी थियो। चार हात पाउ टेकेर हिड्दा एक पटक त हातले सिस्नोको बोट समात्न पुगेछ। असह्य हुने गरि पोल्यो।
पिडा सहने शक्तिचाहिँ मसँग बच्चैदेखि थियो। सिस्नोले त्यसरि पोल्दा पनि रोइनँ। सिस्नोको पोलाइ भन्दा भोकले दिएको पिडा बढी भयानक थियो। हार नमानि उकालो चढ्दै गएँ।
उकालो चढेर पसल भएको घर छेउमा पुगेपछि फर्केर तलतिर हेरेँ। अरु बेला पाँच मिनेटमा हिड्ने बाटो कटाउन आज झन्डै एक घन्टा जति लागेछ। तर पसलमा पुगेको खुशी नि उस्तै थियो। केहि पाइला हिडेर पसल गएँ।
यसभन्दा पहिले म पसलमा किनमेल गर्न खासै गएको थिइनँ। कुन सामानको कति पैसा पर्छ भन्ने पनि थाहा थिएन। पसलमा त्यस्तै ५० वर्षका पुरुष थिए। उनलाई हामीले गाउँमा बाजे भनेर बोलाउथ्यौँ। ठुलो स्वरमा बोल्ने बल थिएन। उनलाई पैसा दिएँ। सानो स्वरमा भनेँ, "आमाले बिस्कुट दिनु भन्नु भाछ।"
उनले एक पुरिया बिस्कुट दिए। अनि पाँचको नोट दिए। यसपछि म उहि गतिमा घर आएँ। बिहानसम्म त हिड्दा खुट्टा मात्रै काँप्थे, अहिले त पुरै ज्यान काँप्न थालिसकेको थियो।
"जान आउन गारो भयो है " आमाले भन्नु भयो।
मैले बिस्तारै टाउको मात्रै हल्लाएँ।
"चिन्ता नलेउ छोरा। हेर, आमाले दुध तताइ सकेँ। " यति भनेर आमाले मेरो हातबाट बिस्कुट र पैसा लिनु भयो।
"कति लियो बिस्कुटको ?" प्रश्नसँगै आमाले आफै पैसाको हिसाब गरेर निकाल्नु भयो।
आमाबाटै थाहा पाएँ, त्यस दिन दश रुपैया पर्ने बिस्कुटको पैसा पसलेले पन्ध्र रुपैया लिएछन्। यो बुझेपछि मैले आमाको मुहार उदास देखेँ। उहाँले पैसा राख्ने पोल्टोमा अरु नोट देखिनँ। सायद् अब उहाँसँग बाकी पैसा त्यहि पाँच रुपैया थियो।
काठमाडौँ सहरमा पैसा कमाउन गएका बुवाको कुनै खबर थिएन, के गरिराख्नु भएको छ? कहिले घर फर्किनु हुन्छ? कति पैसा लिएर आउनु हुन्छ ?
आज बुवा यो दुनियाँमा हामी माझ हुनु हुन्न। बुवा गुमाएको पल सम्झिन्छु, त्यो बेला पाएको दुःख सम्झिन्छु। मन भारी भइ आउँछ।
त्यो घट्ना घटेको करिब तीन वर्षपछि म पनि आमाबाट टाढा आएँ। आज उमेरले दुई दसक बितिसक्यो।
बाल्यकालदेखि अहिलेसम्मका दिनहरू सम्झिदा सम्झन लायक दिन कुनै पनि पाउँदिन। लाग्छ, जन्मेर बाल्यकाल दुःखमा वेकार भएर बित्यो। वयष्क जीवन वेरोजगार रहेर बित्दै छ।
आमासँग रहेर धेरै वर्षहरू बिताउने भाग्य त पाइनँ मैले। अहिले उहाँ भाई र बहिनीसँग बस्नु हुन्छ। कहिले काहि भेट्न जान्छु। खुशि लाग्छ। तर सँगै हुदा जस्तो खुशि कहिलेकाहिँ भेट्नुमा हुन्न।
आज आमाको मुख हेर्ने दिन भन्छन्। सानो छदा यो दिनको बारेमा थाहै पाइनँ। अहिले थाहा पाए पनि आमा साथैमा हुनु हुन्न। आमाको मुख हेर्न पनि भिडियो कलको सहारा लिनु पर्छ। अझ इन्टरनेट नहुदा त अडियो कलमा आवाज सुनेको भरमा चित्त बुझाउनु पर्छ। मन थाम्न गारो हुदो रहेछ।
मेरो आमालाई लेखपढ गर्न आउदैन। फेसबुकमा कति साथीहरूले आमाको याद दिलाउने पोस्टहरू राखेको देखेँ। मेरो भाइले पनि आमाको तस्विर सहित पोस्ट राखेको रहेछ। आज मैले आमाको मुहार देखेको सोहि तस्विरमा हो।
मेरो आमाले फेसबुक चलाउनु हुन्न। झन् अन्य वेबसाइट हेर्ने त कुरै आएन। यसैले म सामाजिक सन्जालमा आमाको बारेमा केहि पनि राख्दिनँ। यो लेख आमाको बारेमा होइन। मेरो मनको वह हो। यसैले आमाले यो पढ्नै पर्छ, या सुन्नै पर्छ भन्दिनँ। मनको कुरा आमालाई भन्न पाउदिन। यसैले लेखेर राख्ने गर्छु। कुनै कथा र व्यथाका कुरा लेखेर राख्दा पनि मन शितल हुन्छ।। यो लेख मन शितल बनाउने एउटा कोशिस मात्रै हो।
मुहार हेरेर मात्रै मन मान्दैन। भेट्न मन लाग्छ। देश पुरै कोरोना संकटकालमा छ। कोरोनाले गर्दा काठमाडौँ सहरले लकडाउन खेपिरहेको छ। आफ्नो सवारी साधन छैन, सार्वजनिक सवारी बन्द छ। भेट्न कसरी जानु ?
कोरोना संकटमा सामाजिक दुरी कायम गरौँ भन्छन्। कहिलेकाहिँ त यो दुरी पनि यति भयानक लाग्छ। बसमा ३० मिनेटको बाटो पनि कोशौँ लामो लाग्छ। बच्चैदेखि भाग्यले ठगेको मान्छे। अहिले प्रकृतिले पनि ठग्न थालेको छ।
जीवन रहुन्जेल धैर्यता ठुलो कुरा हो। धैर्य गर्छु। आमालाई भेट्न पाउने दिन फेरि अवश्य आउला।
अहिले तलको गजलमा जस्तै भनेर चित्त बुझाउनु पर्ने अवस्था छ 👇👇
यहाँ एक्लो हुन्छु अनि आमालाई सम्झिन्छु।
चित्त दुख्छ रुन्छु अनि आमालाई सम्झिन्छु।।
यी आखाँले अगाडि उहि मुहारको दृश्य खोज्दा,
भक्ति माला उन्छु अनि आमालाई सम्झिन्छु।
विरानो यो सहरको गल्लीमा एक्लै भौतारिदा,
कसैको आवाज सुन्छु अनि आमालाई सम्झिन्छु।
पैसा कमाउने सुख दिने चाहनाहरूका साथै,
अनेक सपना बुन्छु अनि आमालाई सम्झिन्छु।
जन्मिदा नै मैलिएको भाग्यका पत्रहरू,
पसिनाले धुन्छु अनि आमालाई सम्झिन्छु।
सुनाउन कहिल्यै नपाएको मेरा भावहरू,
मन भित्रै थुन्छु अनि आमालाई सम्झिन्छु।।
चित्त दुख्छ रुन्छु अनि आमालाई सम्झिन्छु।
यहाँ एक्लो हुन्छु अनि आमालाई सम्झिन्छु।।
।।।।।।।।।।।।।। नेपाली गजल ।।।।।।।।।
।।।।।।।। माता तीर्थ औँशी विशेष ।।।।।।।
।।। माता तीर्थ औँशीको उपलक्ष्यमा सम्पूर्ण आमाहरूमा सुख, शान्ति, सुस्वास्थ्य र दिर्घायुको कामना गर्दछु। । कुनै पनि छोरा-छोरीले आमाको यादमा रुन नपरोस्, कोहि पनि आमाले आफ्नो सन्तानबाट टाढा कहिल्यै हुन नपरोस्। दुख-सुख जीवनमा जे पर्छ, साथमै रहेर यस्ता समस्यासँग जुध्ने अवसर मिलोस्। एक-अर्कामा रिस र दोषारोपण गर्नु पर्ने क्षण कहिल्यै नआओस्। हार्दिक मंगलमय शुभ-कामना।।
साथै आमालाई वृद्धाश्रममा राखि घरमा बसेर सामाजिक सन्जालमा Happy Mother's Day भनि पोस्ट राख्ने छोरा-बुहारीलाई पनि आमाको मुख हेर्ने दिनको शुभ-कामना।। उनीहरूले आफ्ना छोरा-छोरीदेखि टाढा आश्रममा बस्नु पर्ने दिन कहिल्यै नआओस्। जुन शिक्षा उनीहरूका बा-आमाले उनीहरूलाई सिकाएनन्, त्यो शिक्षा उनीहरूका छोरा-छोरीले छिट्टै हाशिल गरुन्। बुढो अनि अशक्त आमा-बालाई यसरी टाढा राख्ने काम नगरुन्। शुभ-कामना।।